कभर्डहल निर्माणका लागि जग्गादान



दमक, २० मङ्सिरः नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआर्ईजी) अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान दिनुभएको छ  ।  दिवङ्गत पिता नारायणसिंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उहाँले करिव रु एक करोड ५० लाखको दमक नगरपालिका–९ स्थित १० कठ्ठा जमीन दान दिनुभएको हो । खेलकूदमा रुचि राख्नुहुने उहाँ दमक–९ का स्थायी बासिन्दासमेत हुनुहुन्छ ।

नगरप्रमुख रोमनाथ ओलीका अनुसार दाता शाहले दिनुभएको जग्गामा ‘नारायण–ज्योति मल्टिपल कभर्डहल’ नामाकरण गरिने र यसै आर्थिक वर्षबाट काम शुरु गरिनेछ । सुविधासम्पन्न हुने उक्त कर्भडहल आगामी पाँच वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको र जग्गादान, नामाकरण तथा निर्माणसम्बन्धी व्यवस्थापकीय विषयमा समेत दाता परिवारसँग सहमति भई हस्ताक्षार भइसकेको उहाँले जानकारी दिनुभयो । यसैबीच नगरपालिकाको बोर्ड बैठकले यहाँ कभर्डहल निर्माणका लागि नगर खेलकूद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको संयोजकत्वमा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समितिसमेत गठन गरेको छ । (रासस)

Comment