पर्यटकको पर्खाइमा धनपालगढी



विराटनगर, २० मङ्सिरः सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गनतव्यमध्ये मोरङको धनपालगढी पनि परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्न लागेको यो स्थानलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पर्यटक भित्र्याई देशमा आर्थिक विकास गर्नु हो । नेपाल पर्यटन बोर्ड, स्थानीय तह र प्रदेश सरकारको सिफारिशमा छनोटमा परेका धनपालगढीको धार्मिक र पुरातात्विक दृष्टिले बेग्लै महत्व छ । निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको सहयोगमा सो ठाउँमा पर्यटन प्रवद्र्धन गरिने स्थानीयवासीको भनाई छ । विराटनगरको उत्तरपूर्वमा पर्ने विगतको कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपाल वाल धनपालको गढी भनेर आजसम्म चिनिन्छ ।

यसलाई सेनवंशी राजाहरुभन्दा पूर्वका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आँकलन गरेको साहित्यकार दधिराज सुवेदी बताउनुहुन्छ । हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक महत्वको राजाको दरबारको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरबारको अवशेष बाँकी छ ।

धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजाको मन्दिरलाई विशेष गरी यहाँका थारू समुदायले पुज्ने गरेका छन् । यहाँ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास गरिन्छ । विराटनगरबाट २१ किलोमिटर उत्तर पूर्व र महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको सो स्थानको मन्दिरमा हात्तीमा चढेको राजा धनपालको मूर्ति र ठूल्ठूला नौ वटा घण्टी चोरी भइसकेको छ ।

दरबारका केही इट्टा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रुपमा छ । स्थानीयवासी बुद्धिविनोद गिरीका अनुसार राजा धनपालकी छोरी फूलवादेवी असाध्यै राम्री र शक्तिशाली भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किंवदन्ती छ । भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारीसँग कुस्तीमा पराजय भोगेपछि धनपालसँगै युद्ध गरेका थिए । धनपालसँग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाममार्फत दाह्री काट्ने निहुँले धनपालको घाँटी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ ।

धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फूल पाइन्छ । चराचुरुङ्गी र वनस्पतिले गर्दा मौसममा यस ठाउँमा दैनिक ५० समूहसम्म वनभोज खान आउने गर्छन् । भारतको विहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीयवासी रामनारायण चौधरीले बताउनुभयो । हरेक वर्षको चैतको शनिबार यहाँको मन्दिर आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ने र एक शनिबार बोका र पाठी बलि दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रुपमा ग्रहण गर्ने चलनले निरन्तरता पाइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजनाअनुरुप सरकारले सबै गन्तव्यका लागि रु ५० करोड बजेट विनियोजन गरिसकेको छ ।

बेलवारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले धनपालगढीसम्म जाने लगभग आठ किमी बाटोको डेढ किमीबाहेक सबैमा कालोपत्र भइसकेको बताउनुभयो । गढीमा विराट चोक हुँदै नेता चोकबाट पनि जान सकिन्छ । पर्यटकीय हिसाबले निकै महत्व मानिएको यो ठाउँको विकास र विस्तारका लागि सरकारले बृहत् योजना बनाई व्यवस्थित ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । उहाँले यो ठाउँको विकासका लागि प्रदेश नं १ सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ भन्नुभयो ।जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले धनपालगढीको जग्गा अतिक्रमण भएकोले सो क्षेत्रको साँधसिमाना कायम गरेर भित्र रहेको पोखरी पनि व्यवस्थित पार्नुपर्छ भन्नुभयो । कमलको फूल फुल्ने यो पोखरीलाई व्यवस्थित गर्नुपर्ने, भित्र रहेका पुराना बोटबिरुवालाई हटाई नयाँ जातको र हरियाली हुने तथा आकर्षक देखिने बोटबिरुवा लगाई प्राकृतिक सौन्दर्यता बढाउने काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

इञ्जिनियर धिरेन्द्र दाहालले केही वर्षपहिले धनपालगढीको विकासका लागि सरकारले रु सात लाख बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले उक्त रकमले त्यो ठाउँको समग्र विकास गर्न सम्भव नभएकाले उक्त पर्यटकीय गन्तव्यको बृहत् योजना बनाई पर्यटक भित्र्याउनुपर्ने धारणा राख्नुभयो । (रासस)

Comment