सरकारले सूचना लुकाएको छैनः मन्त्री बाँस्कोटा



काठमाडौँ, २० मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोर जी)को विस्तार एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विधि र प्रक्रिया पुयाएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।”

“अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको चर्चा गर्दै सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो नरहेको धारणा व्यक्त गर्नुभयो ।

संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको छ भन्नुभयो । मन्त्री बाँस्कोटाले युनिभर्सल पिस फेडेरेशनद्वारा विगतमा पनि सम्मेलन आयोजना भएको र त्यसमा तत्कालीन नेता सहभागी भएको उदाहरण दिँदै सम्मेलनमा सहभागिता जनाउनु गलत कार्य नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्मला हत्याका अपराधी उम्किन सक्दैन, हत्यारा पहिचानको खोजीकार्य प्राथमिकताका साथ भइराखेको छ ।” (रासस)

Comment