कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ



जनकपुरधाम, २० मङ्सिरः जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दासलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा काठमाडौँस्थित होटल तिरूपतिबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले दासलाई हिजो साँझ काठमाडौँमा पक्राउ गरी आज जनकपुर ल्याई अनुसन्धान भइरहेको छ भन्नुभयो । विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीअनुसार दासले गुठीको जनकपुर उपहानगरपलिका वडा नं ८ किता नं ६२ को दुई कट्ठा ११ धुर र किता नं २८ को दुई बिघा आठ कट्ठा १४ धुर क्षेत्रफलको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई उच्च अदालतमा समेत पेश गरेको थियो ।

सरकारी कागज कीर्ते मुद्दामा वारदातपछि फरार रहेका दासलाई धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख थपलियाले दासको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको बताउँदै मुद्दा पुरानो भएकाले मुलुकी ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले यस घटना सरकारी कर्मचारीको संलग्नता नरहेको, दास आफैँले नक्कली छाप र कागज बनाएको देखिएको बताउनुभयो । (रासस)

Comment