महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयनमा जोड



काठमाडौँ, २० मङ्सिरः महिला हिंसा अन्त्यका लागि भएका ऐन-कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित ‘न्यायिक समितिका पदाधिकारीसँग लैङ्गिक हिंसा न्यूनिकरण’ विषयक अन्तक्र्रियामा सरोकारवालाले महिला हिंसाविरुद्ध देशव्यापी सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका डा हरि पौडेलले महिला हिंसा अन्त्यका लागि महिला र पुरुषले सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला हिंसामध्ये आयोगमा सबैभन्दा बढी घरेलु हिंसाका मुद्दा दर्ता हुने गरेको जानकारी दिनुभयो । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको उहाँले बताउनुभयो । हेल्पलाइन शुरु भएदेखि अहिलेसम्म करीब ५० हजार फोन आएको उहाँको भनाइ छ । विसं २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत अहिलेसम्म एक हजार ५०० महिला हिंसासम्बन्धी उजुरी दर्ता भएको छ ।

त्यसैगरी १२० जनालाई अर्को सम्बन्धित निकायमा जानका लागि सूचना प्रदान गरिएको छ भने १६४ लाई हेल्पलाइनबाट सिधै सम्बन्धित प्रहरीसँग कुराकानी गराइएको छ । आएको फोनमध्ये करीब छ हजार ३७९ लाई आयोगले विषय वस्तुसँग सम्बन्धित सूचना उपलब्ध गराइएको थियो । महिलाको हकहितको संरक्षण एंव सम्वद्र्धन गर्ने उद्देश्यले २०५८ सालमा राष्ट्रिय महिला आयोगको स्थापना गरिएको हो । (रासस)

Comment