हुम्लामा हिमपातले तीन हप्तादेखी विद्युत् बन्द ९० घरधुरी अन्धकारमा



हुम्ला, २८ माघ : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् ।सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताउनुभयो । स्याडा गाउँका स्थानीय नागरिक मिलेर सिमकोटमा रहेको विद्युत् केन्द्रको कार्यालयमा विद्युत् अवरुद्ध भएको बारेमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको परियारले बताउनुभयो ।जलविद्युत् केन्द्र हिमपातका कारण सिमकोटबाहेक अन्य गाउँमा वितरित लाइन काटेको बताउँदै आएको छ । हिमपातका कारण कुन ठाउँमा बिग्रिएको छ हेर्न नसकिएको विद्युत् कार्यालयका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताउनुभयो ।

पाँच सय किलोवाट रहेको हिल्दुम वितरण केन्द्रले अहिले सिमकोट बजारमा १४ घण्टा विद्युत् भार कटौती गर्दै आएको छ । हिउँद महीनाको मङ्सिर लागेदेखि उक्त केन्द्रले २५० किलोवाट विद्युत् आपूर्ति गर्दै आएको प्रशासन प्रमुख खड्काले बताउनुभयो ।हिल्दुम वितरण केन्द्रले दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती गर्दै आउनाले सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, बजार व्यवसायलगायत विद्युत्बाट हुने काम प्रभावित हुँदै आएका छन् । विद्युत् मर्मत नहुँदा अहिले स्याडाका स्थानीय दियालोको सहायतामा भर पर्दै आएको परियारले बताउनुभयो ।  (रासस)

Comment